एसइई पास गर्ने आमाहरूकाे रहर
म्याग्दी | चैत १६, २०७९
म्याग्दी: बेनीकी ४९ वर्षीया विष्णु गुरुङलाई यतिखेर एसइई परीक्षाको चिन्ता छ । भोलि (शुक्रबार) देखि सुरु हुने एसइई परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ । घरको कामधन्दा सँगै गुरुङ एसइईको तयारीमा जुट्नुभएको छ । भोलि देखि परीक्षा हो भन्छन् मनमा डर लागिरहेको छ उहाँले सुनाउनुभयो ।
‘‘सानै उमेरमा विवाह भएपछि पढ्ने अवसरबाट वञ्चित भइयौँ’’,गुरुङले भन्नुभयो, ‘‘पढाई नहुँदा धेरै ठाउँमा ठक्कर खाएँ,त्यसैले उमेर नाघे पनि पढ्ने इच्छा जागेर आयौँ । राम्रो अङ्क ल्याएर एसइई पास गर्ने रहर छ ।’’
सात कक्षा पास गरेर आठ कक्षामा पढ्दै थिए बुवा आमाले विवाह गरिदिनुभयो गुरुङले भन्नुभयो, ‘विवाह पछि छोराछोरी जन्माउने,हुर्काउने र पढाउन तीर लागियो आफूले पढ्ने भन्ने हरायो ।’ छोराछोरी हुर्काउने र पढाउने काम सकेपछि बल्ल आफूलाई पढ्ने फुर्सद भयो गुरुङले सुनाउनुभयो ।
गुरुङले भन्नुभयो,‘बेनीको उज्यालो विद्यालयमा हामी जस्तालाई पढ्ने अवसर दिएकाले ८ कक्षामा भर्ना भएर पढ्न थाले अहिले एसइईको परीक्षा दिने भएकी छु ।’ बेनीमा अल्लो उद्योग व्यवसाय गर्दै आउनुभएकी गुरुङलाई शिक्षा नहुँदा धेरै ठाउँमा ठक्कर खानु परेको अनुभव सुनाउनुभयो ।
नयाँ प्रविधिको विकास भएको छ उक्त प्रविधिलाई प्रयोग गर्न पनि शिक्षा जरुरी रहेछ उहाँले भन्नुभयो । एसइईमा राम्रो अङ्क आए त्यसपछि क्याम्पस पनि पढ्ने रहर भएको उहाँले बताउनुभयो ।
यस्तै रघुगंगा गाउँपालिका–७ चिमखोलाकी ५७ वर्षीया राधा पुनलाई पनि एसइई पास गर्ने रहर जागेर आएको छ । ‘छोराछोरीले एसइई पास गरिसके मैले पनि यसपालि एसइई पास गर्ने हो ।’ उहाँले भन्नुभयो ।
रघुगंगा गाउँपालिका १ बेगखोला स्थायी ठेगाना भई हाल बेनीमा बसोबास गर्नुहुने ५० वर्षीया डिलकुमारी पुर्जाले पनि एसइईको तयारीमा हुनुहुन्छ । ‘‘सानो हुँदा भेडा बाख्रा चराउन जानुपर्दथ्यो,गोठमा दिनहरू बिते,विद्यालयमा टेक्ने अवसर पनि पाइएन,’’ पुर्जाले भन्नुभयो, ‘‘गोठमा बाजेले अलिअलि कखरा पढाउनुभयो । अनि विवाह भयो पढ्न पाइनँ ।’’
पुर्जाको छोराछोरीले १२ कक्षा पास गरिसेका छन् । अहिले पढ्न थालेपछि छोराछोरी पनि खुसी भएका छन् । परिवारले पनि हौसला दिन्छन् उहाँले सुनाउनुभयो ।
उहाँहरू सहित उज्यालो वैकल्पिक विद्यालयबाट ९ जना आमाहरू यसपालिको एसइई परीक्षामा सहभागी हुनुहुन्छ । ३५ वर्षीया सङ्गीता छिनाल, ३९ वर्षीया धनकुमारी विक, ४० वर्षीया रामदेवी पुन, ३७ वर्षीया इन्द्र मति फगामी, २८ वर्षीया पूजा छन्त्याल र ५२ वर्षीया तुलकुमारी खत्री एसइई परीक्षामा सहभागी हुँदै हुनुहुन्छ ।
बुधबार विद्यालयले एसइई परीक्षामा सहभागी हुने आमाहरूलाई एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सामाजिक विकास कार्यालय रहेको भवनको भुईँ तलाको ६ कोठामा सञ्चालन गरिएको छ ।
बिचमै पढाई छाडेका लागि उज्यालो विद्यालयले पढ्ने अवसर दिएको छ । विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बिचैमा पढाई छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ देखि समुदायको सक्रियतामा उक्त विद्यालय खुलेको हो ।
विद्यालय सञ्चालन गर्न बेनी नगरपालिकाले केही रकम अनुदान दिने र बाँकी दाताको चन्दा सहयोगबाट चलेको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । सरकारले दरबन्दी कायम गरेर शिक्षक उपलब्ध गराइदिए आगामी दिनमा विद्यालय सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

